Tiger

राजमार्गमा बाघको रमिता

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

निकुञ्‍जभित्रैबाट सडक भएकाले मान्छेलाई वन्यजन्तुको डर छ, वन्यजन्तुलाई सवारी ठक्करको जोखिम

बर्दिया — एकाएक एक दर्जनभन्दा बढी गाडी रोकिए । मंगलबार मध्याह्नको अवरोध, त्यो अवरोध न मान्छेहरूले गरेको चक्काजाम थियो, न त बर्दियाका लागि नौलो । बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गत पूर्व–पश्चिम राजमार्ग खण्डमा गाडी रोकेर चालक र यात्रु अवरोध नहटुन्जेल पर्खिए ।

जंगलबाट निस्किएको बाघ राजमार्गमा थियो, जो आफ्नै सुरमा आधा घण्टा रमायो । अनि जंगलतिर लाग्यो ।
यो अवधिमा बसका केही यात्रु त्रासमा देखिए, कोही भने बाघ हेर्न लालायित थिए । जोखिम मोलेर गाडीबाट सडकमा झर्ने अवस्था थिएन । त्यही बेला बाघ अनुगमन क्रममा त्यहाँ पुगेका जेडएसएलका फिल्ड कार्यक्रम अधिकृत सञ्जीव पुनले आफू सवार जिपबाट बाघको तस्बिर खिच्न भ्याए ।
Tiger
दुई वर्षदेखि यस क्षेत्रको अवलोकनमा क्रियाशील पुनले राजमार्गमा यसरी बाघलाई निस्फिक्री पहिलो पटक देखेको बताए । निकुञ्जस्थित राजमार्ग हुँदै बाघ ओहोरदोहोर गर्ने भएकाले दुईपाङ्ग्रे सवारीका चालकले सावधानी अपनाउनुपर्ने उनले बताए । बुधबार साँझ पनि यसरी नै पाटेबाघ दक्षिणबाट उत्तर चुरेतर्फ गएको कैलालीको टीकापुरबाट बर्दिया आउँदै गरेका बारबर्दिया–९ का दीपेश थारूले देखेको सुनाए । सुरक्षाका लागि तैनाथ सुरक्षा पोस्टदेखि पश्चिम करिब ६ किमि टाढा घुम्ना खोलानजिक बाघ देखिएको हो । यही स्थानमा गत पुस १७ गते राति बाघले मोटरसाइकलमा सवार कैलाली लम्कीचुहा–४ कौवापुरकी ५२ वर्षीया नन्दकला थापालाई झम्टेर मारेको थियो ।

गुडिरहेको मोटरसाइकललाई बाघले झम्टिएको थियो । उक्त स्थानमा त्यसअघि २०५८ सालमा यस्तै घटना भएको थियो । मोटरसाइकलमै सवार कैलाली लम्कीस्थित शीतल चलचित्र मन्दिरका सञ्चालक ५२ वर्षीय छेसांग लामालाई बाघले थापालाई जसरी नै मारेको थियो । लामा नेपालगन्जबाट लम्की जाँदा मोटरसाइकलमा पछाडि बसेका थिए ।

निकुञ्जभित्रका विभिन्न क्षेत्रसँगै मान्छेको आवागमन रहने सडकमा पनि हिजोआज बाघ आउजाउ गरिरहेको देखिएका छन् । दैनिक सयौं गाडी गुडे पनि बाघ निस्फ्रिकी आउजाउ गर्ने गरेको निकुञ्जका कर्मचारीले बताए । निकुञ्जको १४ किलोमिटर खण्डमा कहिलेकाहीं हात्तीका बथानले पनि अवरोध पुर्‍याउँछन् ।

जिल्लाको अम्रेनीदेखि चिसापानीपूर्वसम्म १४ किमि सडक दायाँबायाँ घना वन र काँसको झाडी छ । दक्षिण निकुञ्जको समथर भूभाग छ भने उत्तरतर्फ वन र चुरे पहाड छ । उक्त खण्डमा चारवटा खोला छन् । हिउँदमा सुक्खा हुन्छ । निकुञ्जसँग जोडिएको कर्णाली नदी वन्यजन्तुका लागि पानी पिउने स्रोत हो । कर्णाली तटीय क्षेत्र बासस्थान भएकाले खुला परिवेश खोज्दै बाघ राजमार्गमा आउजाउ गर्ने गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष ठाकरद्वाराका प्रमुख डा. रविन कडरियाले बताए । ‘बाघ राजमार्गमा ओहोरदोहोर गर्दा सडकमा हिँड्ने सवारीसाधनमाथि आक्रमण गर्छ,’ उनले भने, ‘लकडाउनयता ६ वटा बाघ राजमार्गमा देखिएको तस्बिर खिचिएको छ ।’

सन् २०१८ को गणनाअनुसार बर्दियामा ८७ वटा बाघ छन् । हुर्कंदै गएपछि बाघका भालेले आफ्ना लागि विचरणको छुट्टै क्षेत्र तय गर्छ । धेरै बाघ एउटै ठाउँमा भए लडाइँ पर्ने र आपसमै मारिने हुनाले भालेहरू नयाँ क्षेत्र खोज्न निस्कँदा वनक्षेत्र आसपासका बस्तीमा पनि पुग्छन् ।

२०४२ सालमा पूर्व–पश्चिम राजमार्ग निर्माण गरिने क्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले मानव र वन्यजन्तुका लागि निकै जोखिम भएकाले सडकका लागि वैकल्पिक रुट खोज्न भनेको थियो । त्यसबेला सडक विभाग पनि सहमत भएको थियो । तत्कालीन मन्त्रिपरिषद्ले भने घुमाउरो बाटोबाट लैजाँदा धेरै खर्च लाग्ने भन्दै रोक लगाएको थियो ।

कर्णाली नदीमा पुल बनाउन ठूलो धनराशि खर्च हुने र सुदूरपश्चिम जोड्ने सडक पनि लामो हुने भएकाले बर्दिया राष्ट्रिय निकुञ्जको अम्रेनीदेखि चिसापानीसम्म सडक खन्ने काम भएको पूर्वप्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले बताए । त्यसबेला यस राजमार्गको अम्रेनी–चिसापानी खण्डमा करिब ५ हजार रूख कटान गरिएको थियो । निकुञ्जको मध्यभागबाट निर्माण गरिएको पूर्व–पश्चिम राजमार्गमा दैनिक झन्डै एक हजार सवारीसाधन गुड्ने गर्छन् ।

राजमार्गबाट दैनिक सयभन्दा बढी वन्यजन्तु ओहोरदोहोर गर्ने गरेका छन् । बाघ, हात्ती, चित्तल, गैंडा, बँदेल, खरायो, अजिंगर, बाँदरलगायत वन्यजन्तु राजमार्गबाट आउजाउ गर्छन् । उनीहरूको बासस्थान यसै राजमार्ग आसपासमा छ । भूमिगत र आकाशे पुल नहुँदा यहाँ बर्सेनि सयभन्दा बढी वन्यजन्तु मारिने गरेको बर्दिया राष्ट्रिय निकुञ्जको अभिलेखमा छ । २०४७ सालमा निर्माण सम्पन्न भएको यस राजमार्गमा बर्सेनि वन्यजन्तुका कारण दुई दर्जनभन्दा बढी सवारीसाधन दुर्घटनामा पर्ने गरेका छन् ।

बर्दिया निकुञ्जभित्र रहेको राजमार्गस्थित रम्मापुरदेखि सैनावारसम्म १३ किमि दूरी छ । यस क्षेत्रमा कम घनाजंगल भएकाले वन्यजन्तुको ओहोरदोहोर कम छ । सैनावारदेखि अम्रेनीसम्मको करिब ७ किमि क्षेत्र निकुञ्जबाहिर राजमार्ग पर्छ । २०६३ माघ २८ गते सैनावारस्थित राजमार्गमा जंगली हात्तीको आक्रमणमा स्थानीय उदयसिंह साउदको मृत्यु भएको थियो । यस क्षेत्रमा हूलका हूल हात्ती ओहोरदोहोर गर्छन् । यहाँ बेलाबेलामा सडकमै हात्ती खडा हुँदा आउजाउ नै प्रभावित भएर दर्जनौं सवारीसाधन रोकिन पुग्छन् ।

अम्रेनी र चिसापानी सडक खण्डमा लामो समयदेखि आकाशे पुल निर्माण हुनुपर्ने माग उठ्दै आएको छ । निकुञ्ज प्रशासनले आकाशे पुल निर्माणका लागि केन्द्रसँग पत्राचार गरेको प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले बताए । ‘अहिलेसम्म कुनै केन्द्रबाट पहल भएको छैन,’ उनले भने, ‘आकाशे पुल नबनेसम्म मानव र वन्यजन्तुबाट हुने जोखिम कम हुने सम्भवना छैन ।’ राजमार्गमा वन्यजन्तुबाट जोगिन सचेतनालगायत कार्यक्रम गरिएको छ । डिभिजन सडक कार्यालय नेपालगन्जका प्रमुख होमबहादुर एसीले निकुञ्जभित्रको राजमार्गमा अकाशे पुल वा भूमिगत सडक निर्माणबारे आफूलाई कुनै जानकारी नभएको बताए ।

चिसापानी, अम्रेनी, सैनावार र रम्मापुरमा निकुञ्ज सुरक्षाका लागि सेनाका चारवटा सुरक्षा पोस्ट छन् । हरेक पोस्टमा अनिवार्य टाइम कार्डसँगै सवारी चेकजाँच हुने गर्छ । यस्तोमा बर्दियाको बाँसगढी, लक्ष्मणा र बैदी चोकबाट गुलरिया, राजापुर हुँदै कैलाली पुग्ने छोटो र बिनाझन्झटिलो बाटो छ । पूर्वप्रमुख संरक्षण अधिकृत थापाले यी सडक फराकिलो र जब्दीघाटमा भासिएको बबईको पुल निर्माण गरे मानव र वन्यजन्तु दुवै सुरक्षित हुने बताए । यो सडक अहिले फराकिलो बनाउँदै कालोपत्रे भइरहेको छ ।

राजापुरस्थित कर्णाली नदीमा पुल निर्माण भइसकेको छ भने सडकसमेत कालोपत्रे छ । गुलरियाबाट राजापुरस्थित सत्तीघाट पुल पुग्न ४० किमि छ । पूर्व–पश्चिम राजमार्गको रम्मापुरदेखि चिसापानी सडक खण्ड झन्झटिलो भएकाले यसै मार्गबाट सवारी सञ्चालन गरिए मानव र वन्यजन्तुबीचको द्वन्द्व राजमार्गमा सदाका लागि अन्त्य हुने विश्वास स्थानीयको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *