कोइराला परिवारकी नयाँ ‘नेता’ : ‘हिन्दूराष्ट्र’को एजेण्डासहित नायिका मनिषा कोइराला राजनीतिमा

राजनीति
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – नेपालमा राणाशासन अन्त्य भएदेखि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म आइपुग्दा कोइराला परिवारको महत्त्वपूर्ण योगदान रहँदै आएको छ। नेपाली कांग्रेसको राजनीतिक विरासत कोइराला परिवारको वरिपरि रह्यो। मात्रिकाप्रसाद कोइरालाले ‘प्रजातन्त्रको बाटोबाट विचलित’ भएपछि वीपी कोइरालाले नेपाली प्रजातान्त्रिक आन्दोलनको नेतृत्व सम्हाले।

त्यसपछि गिरिजाप्रसाद कोइरालाले नेपालमा पञ्चायतविरुद्धको आन्दोलन, प्रजातन्त्र पुनर्स्थापनाको आन्दोलन हुँदै लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनको नेतृत्व गरे।

अझ भनौं, गिरिजाप्रसाद कोइराला लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि नायककै रुपमा स्थापित भए। नेपाली कांग्रेसमा अहिले पनि डा. शेखर कोइराला, डा. शशांक कोइराला र सुजाता कोइराला सक्रिय छन्।

तत्कालीन नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार प्रमुख भएर सक्रिय राजनीति गरेका मात्रिकाप्रसाद कोइरालाका पुत्र कमल कोइराला पनि नेपाली राजनीतिको केन्द्रमै छन्। उनी अहिले सत्तारुढ नेकपाका एक अग्रज नेतृत्व हुन्।

यसै शिलशिलामा नेपाली राजनीतिले कोइराला परिवारबाट नयाँ अनुहारलाई ‘नेता’को रुपमा पाउने भएको छ। बलिउडकी सदावहार नायिका मनिषा कोइरालाले राजनीतिक यात्रा शुरु गर्न लागेकी हुन्।

वीपी कोइरालाकी नातिनी मनिषाले पृथ्वीनारायण शाहको पुस २७ गते १९९औं जन्मजयन्तीदेखि औपचारिक रुपमा राजनीतिक यात्रा प्रारम्भ गर्ने छिन्। हुन त उनका बुवा प्रकाश कोइराला पनि नेपाली राजनीतिज्ञ हुन्।

तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा वातावरण, विज्ञान तथा प्रविधि मन्त्री भएपछि प्रकाश कोइरालाको राजनीतिक जीवन लगभग समाप्त भएको हो। नेपाली कांग्रेसबाटै राजनीति अघि बढाउने उनको योजना पनि लोकतान्त्रिक गणतन्त्रको आन्दोलन पश्चात समाप्त भयो।

मनिषा कोइरालाको एजेण्डा

नेपालमै बसेर राजनीतिमा संलग्न हुने चाहनाअनुरुप मनिषा नेपाल फर्किएकी हुन्। नेपालको पछिल्लो राजनीति अवस्था र गणतन्त्र विरोधी छवि भएका केपी ओली नेतृत्वको सरकार गठन भएपछि पूर्वपञ्चहरू र राजतन्त्र पक्षधर सल्बलाउन थालेका हुन्।

२०६२ सालमा ज्ञानेन्द्रलाई साथ दिएर मन्त्री भएका प्रकाश कोइरालाको पथ अंगीकार गर्दै मनिषा पनि ‘हिन्दूराष्ट्र’को एजेण्डासहित राजनीतिमा होमिन लागेकी हुन्।

‘नेपालमा नयाँ तरिका र आफ्नै शैलीको व्यवस्था चाहिन्छ भन्ने कुरा प्रमाणित भइसक्यो, त्यसैले हामी जुटेका हौं,’ मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मनिषाले भनिन्, ‘अब सबै देशभक्त र राष्ट्रवादी एकजुट हुनुपर्ने बेला आयो।’

मंगलबारको पत्रकार सम्मेलनअघि मनिषाले नेपालका विभिन्न राजनीतिक दल, सामाजिक अभियन्ता, पूर्वप्रहरी, कर्मचारी, लेखक तथा पत्रकारहरूसँग परामर्श गरेकी छिन्।

पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपाने, नेपाल प्रहरीका पूर्वडिआइजी एवं सामाजिक अभियन्ता रमेश खरेल, राजनीतिज्ञ विपीन कोइराला लगायतसँग परामर्श गरेकी हुन्।

परामर्शका क्रममा मनिषाले मिश्रित प्रतिक्रिया पाएकी छिन्। कतिपयले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र भइसकेकाले पश्चगामी सोचसहितको एजेण्डा नबोक्न सुझाव दिएका छन्। कतिपयले लोकतन्त्रसहितको हिन्दू गणतन्त्रको एजेण्डा अघि बढाउन सुझाव दिएका छन्।

पूर्वपञ्च र तत्कालीन शाहवंशीय शासनमा सत्ताको पक्षपोषण गरेका नेताहरूले राजसंस्था र हिन्दूराष्ट्रको एजेण्डा अघि सार्न सुझाव दिएका छन्। यसै सन्दर्भमा मनिषाको ‘फेस’ प्रस्तुत गर्दै एक समूहले पुस २७ गते ‘पृथ्वी जयन्ती’ मनाउने तयारी गरिरहेको छ।

मनिषा आफैंले ट्वीट गर्दै पत्रकार सम्मेलनमा उपस्थित हुन आग्रह गरेकी थिइन्। ‘आउनुहोस्, राष्ट्रिय अस्मिता, स्वतन्त्रता र नेपाली पहिचानका लागि कृतज्ञता एवं श्रद्धाञ्जली अर्पण गरौं पृथ्वीनारायण शाहप्रति,’ नायिका मनिषाले ट्वीट लेखेकी थिइन्।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *