छानबिन सुरु भएपछि भागे अमेरिकी चिकित्सक

विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

धर्म परिवर्तन गराएको आरोपमा कारबाहीमा पर्ने सुइँको पाएपछि बनेपाको शिर मेमोरियल अस्पतालका चिकित्सक स्वदेश फर्किए ।

काठमाडौँ — अस्पतालभित्रै चर्च स्थापना गरेर हिन्दु र बौद्धमार्गी नेपाली नागरिकलाई गैरकानुनी रूपमा धर्म परिवर्तन गराएको आरोपमा सरकारले छानबिन सुरु गरेपछि काभ्रेको बनेपास्थित शिर मेमोरियल अस्पतालका चिकित्सक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका अमेरिकी नागरिक डा. डेल माइकल मोल भागेका छन् ।

कारबाही हुनु २ दिनअगावै ५०६०२०७२१ राहदानी वाहक उनी पत्नी सुशन मोलसहित सोमबार अमेरिका प्रस्थान गरेका हुन् । अस्पतालको वेबसाइटमा उल्लेख भएअनुसार डेल अझै प्रमुख कार्यकारी अधिकृत र पत्नी सुशन सोही अस्पतालकी कर्मचारी हुन् । उनी प्रोजेक्ट विज्ञका रूपमा कार्यरत थिइन् ।
डेल दम्पती सन् २०१५ डिसेम्बरदेखि अस्पतालमा कार्यरत थिए । शिर मेमोरियल अस्पताल सन् १९६० बाट अमेरिकी नागरिक चार्ल्स जे शिर र उनकी धर्मपत्नी क्यारोलिनका नाममा स्थापना भएको थियो । यो अस्पताल मेरिकास्थित सेभेन्थ डे एडभेन्टिस्ट चर्चको समेत सहयोगमा खोलिएको थियो ।

गृह मन्त्रालयबाट भइरहेको आन्तरिक अनुसन्धान र त्यसपछि पक्राउ पर्न सक्ने सुइँको पाएपछि उनी पत्नीसहित नेपाल छोडेर भागेको गृह मन्त्रालय स्रोतले जानकारी दियो । संविधानको धारा २६ मा ‘कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पार्ने काम वा व्यवहार गर्न वा गराउन हुँदैन र त्यस्तो कार्य कानुनबमोजिम दण्डनीय हुनेछ’ भनिएको छ । संविधानको त्यही व्यवस्थाअनुसार मुलुकी अपराध संहिता २०७४ को दफा १५८ मा कसैले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग वा दुरुत्साहन दिन हुँदैन भनिएको छ ।

संहिताको दफा २ मा ‘कसैले कुनै जात, जाति वा सम्प्रदायमा सनातनदेखि चलिआएको धर्म, मत वा आस्थामा खलल पार्ने कुनै काम वा व्यवहार गर्न वा खलल हुने गरी कुनै प्रलोभन देखाई वा नदेखाई कुनै धर्ममा परिवर्तन गराउन वा धर्म परिवर्तन गराउने नियतले त्यस्तो धर्म वा मत प्रचार गर्न हुँदैन’ भनिएको छ । यस्तो कसुर गर्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

सामाजिक सेवाका नाममा युरोप, अमेरिका, अफ्रिका र कतिपय एसियाली मुलुकबाट नेपालमा भित्रिएका गैरसरकारी संघसंस्थामार्फत प्रलोभन र प्रभावमा पारेर धर्म परिवर्तन गराएको आरोप लाग्दै आएको छ । यसलाई बल पुग्ने गरी पछिल्लो पटक शिर मेमोरियल अस्पतालभित्रै योजनाबद्ध रूपमा धर्म परिवर्तन गराएको आरोप बाहिर आएको हो । पक्राउअघि नै भागेपछि अध्यागमन विभागले गृहसचिव महेश्वर न्यौपानेको सिफारिसमा डेललाई ५ वर्ष नेपाल फर्किन नपाउने गरी मंगलबार कालोसूचीमा राखेको छ ।
अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीले डेल कारबाही हुनुअगावै नेपाल छोडेर भागिसकेकाले उनलाई ५ वर्षका लागि कालोसूचीमा राखिएको बताए । ‘अनुसन्धान भएर कारबाही प्रक्रिया अघि बढ्दै थियो, त्यसअघि नै उनी नेपाल छोडेर अमेरिका गइसकेका रहेछन्,’ महानिर्देशक केसीले भने, ‘त्यसपछि अध्यागमन ऐन २०४९ र कार्यविधि २०६५ अनुसार ५ वर्ष नेपाल फर्किन नपाउने गरी डेललाई कालोसूचीमा राखेका छौं ।’

६ वर्षदेखि ग्राटिस (निःशुल्क) भिसा सुविधामा बस्दै आएका डेल दम्पती धर्म परिवर्तनको कसुरमा छानबिनमा परेपछि नोभेम्बर अन्तिममा उनले भिसा परिवर्तन गरी पर्यटक भिसा नियमित गरेका थिए । २७ नोभेम्बरमा उनको ग्राटिस भिसा अवधि सकिएपछि त्यसपश्चात् उनले पर्यटक भिसा लिएर भाग्ने योजना बनाएका थिए ।

एक महिना अघिबाटै गृहले डेलले अस्पतालभित्रै चर्च स्थापना गरेर त्यहाँ आउने बिरामीलाई धर्म परिवर्तन गराउन दबाब दिएको उजुरीपछि छानबिन थालेको थियो । त्यहाँ कार्यरत कर्मचारीमाथि पनि डेलले दुर्व्यवहार गरेको उजुरी अध्यागमन विभागमा परेको थियो । गृहबाट थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काभ्रेलाई निर्देशन दिइएको थियो ।

त्यसपछि काभ्रेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शिवराम पोखरेलले सहायक प्रजिअ लक्ष्मीदेवी हुमागाईं खतिवडाको संयोजकत्वमा छानबिन समिति नै गठन गरेका थिए । समितिले अस्पताल परिसरमा चर्च स्थापना गरेर क्रिश्चियन धर्मसम्बन्धी गतिविधि हुने गरेको रिपोर्ट तयार पारेको थियो । तर रिपोर्ट गृहमा आइनपुग्दै डेलले स्थायी रूपमा नेपाल छाडेर अमेरिका भाग्ने योजना बनाइसकेको खुलेको छ । काभ्रेका प्रजिअ पोखरेलले छानबिन समितिको प्रतिवेदनबारे गृहलाई जानकारी गराइएको बताए ।

‘अस्पतालमै चर्च स्थापना गरेर जबर्जस्ती धर्म परिवर्तन गराउने कार्यमा डेलको संलग्नता रहेको उजुरीपछि छानबिन समिति बनाएका थियौं, प्रतिवेदन कार्यान्वयनका क्रममा रहेकै बेला डेल विदेश गइसकेको हामीले सुनेका छौं,’ उनले भने, ‘कसैले कसैलाई प्रलोभन र प्रभावमा पारेर धर्म परिवर्तन गराउन पाउँदैन, यस्तो कार्यमा संलग्नलाई कारबाहीको दायरामा ल्याइनेछ ।’ उनले शिर मेमोरियल अस्पतालभित्र डेल हिँडिसकेपछिका गतिविधिमा पनि सूक्ष्म निगरानी राखिएको बताए ।

विभागका महानिर्देशक केसीले पनि विभिन्न आवरणमा नेपालमा आएका विदेशी नागरिक धर्म परिवर्तनलगायत कानुनले वर्जित गरेका गतिविधिमा संलग्न हुने गरेको र यसलाई विभागले कडाइका साथ नियमन थालेको पनि बताए । देशभरका प्रजिअहरूलाई पनि विदेशी नागरिकका गतिविधिलाई सूक्ष्म निगरानीमा राख्न निर्देशन दिइएको पनि बताए ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *