शान्ति सेनामा खटेका नेपाली सेनाले विद्रोही लखेटेपछि जाेगियाे प्रमुख शहर

विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाली शान्ति सैनिकले सेन्ट्रल अफ्रिकन रिपब्लिकको प्रमुख सहर बमवारीलाई विद्रोहीको कब्जा हुनबाट जोगाएको छ ।यस सहरलाई विद्रोहीले नियन्त्रणमा लिएपछि त्यसको प्रतिकार स्वरुप नेपाली शान्ति सैनिकको एक गुल्म त्यहाँ परिचालन भएपछि विद्रोही पछि हट्न बाध्य भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।नेपाली शान्ति सैनिकको मद्दत पाएपछि त्यहाँको सरकारी सेनाले पुनः त्यस सहर नियन्त्रणमा लिन सफल भएको जानकारी दिइएको छ ।

त्यहाँ तैनाथ नेपाली सेनाको रणशेर गणका गणपति प्रमुख सेनानी मिनराज तिवारीको कमाण्डमा गएको गुल्मले सरकारी सेना तथा सशस्त्र प्रहरीको क्याम्पमा भएको विद्रोहीको आक्रमणको प्रयासलाई विफल पारेको थियो ।
यस घटना पश्चात विद्रोही समूहबाट ठूलो सङ्ख्यामा हातहतियार र विष्फोटक पदार्थ नियन्त्रणमा लिएको बताइएकोछ ।

कारबाहीमा सहभागी नेपाली शान्ति सैनिक सबै जना सकुशल रहेको नेपाली सेनाले जनाएको छ । आउँदाे आइतबारका लागि तय भएको आम निर्वाचनमा त्यहाँका पूर्वराष्ट्रपति फ्रान्कोइज बोजिजलाई निर्वाचनमा उम्मेदवार हुनबाट रोकेपछि द्वन्द्व सुरु भएको हो ।

पछिल्ला दिनमा सशस्त्र विद्रोहले उग्ररुप लिन थालेपछि निर्वाचन अनिश्चित बन्दै गएको छ । त्यहाँको अवस्थाको आँकलन गरी विपक्षी राजनीतिक दलहरुले शान्ति सुरक्षाको अवस्थाप्रति चिन्ता गर्दै निर्वाचनको मिति सार्न सरकारसँग अनुरोध गरेका छन् । विद्रोही समूहले देशको उत्तर, पश्चिम र दक्षिणी भूभागबाट आक्रमण सुरु गरी राजधानी बन्गुई प्रवेश गर्ने प्रयास गरिरहेका छन् ।

विद्रोहीको प्रयासलाई रोक्न त्यहाँ तैनाथ शान्ति मिसनले शान्ति सैनिकलाई सरकारी सेनालाई सहयोग गर्न निर्देशन दिइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालले जनाएको छ । निर्वाचनका लागि अनिश्चित र संवेदनशील सुरक्षा अवस्था रहेता पनि सुरक्षित वातावरण बनाउन नेपाली शान्ति सैनिकले सुरक्षा सुदृढ तुल्याउन तल्लिन रहेको सेनाले जनाएको छ ।रासस


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *