अफ्रिकामा अवार्ड जितेकी योगिशा भन्छिन्ः प्रियंका कार्कीजस्तै हिराेइन बन्न चाहन्छु

मनोरञ्जन
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रेमगीत-३’ गत वर्षको प्रतीक्षित फिल्म थियो। नयाँ वर्ष २०७७ छेको पारेर गत चैत २८ मा रिलिज हुने तय भएको यो फिल्म लकडाउनका कारण सार्वजनिक हुनै पाएन।

सबै क्षेत्र खुल्दै जाँदा फिल्म क्षेत्र खुलिनसकेकोले ‘प्रेमगीत-३’ कहिले सार्वजनिक हुन्छ, अझै अनिश्चित छ। यो अनिश्चितताले यस फिल्ममा गीत पात्रको भूमिका निर्वाह गरेकी बाल-कलाकार योगिशा खत्रीको मनमा छटपटी चलाएको छ। उनी आफूलाई ठूलो पर्दामा हेर्न एकदमै आतुर छिन्।

गत वर्ष पुसमा सन्तोष सेन निर्देशित ‘प्रेमगीत-३’ कै छायांकनका लागि योगिशा मनाङ पुगेकी थिइन्। योगिशासँग मनाङको अनुभवबाटै कुरा सुरू भयो।
एक महिना मनाङमा बिताएकी उनी त्यहाँको चिसो सम्झेर अझै कठ्यांग्रिन्छिन्।

चिसोले हात ठिहिर्‍याएर सुटिङ गर्न गाह्रो भएको थियो,’ १२ वर्षीया योगिशाले भनिन्। मनाङका आफूजस्तै केटाकेटीका राता-राता गाला पनि याद आउने उनले बताइन्।
योगिशा काठमाडौं फर्केको छोटो समयमै फिल्मको टिजर सार्वजनिक भयो, ‘अब चाँडै फिल्म हेर्न पाइने भयो भनेर खुसी थिएँ, लकडाउन भयो।’

प्रेमगीत-३’ योगिशाको पहिलो फिल्म भने होइन। यसअघि नै छायांकन सकाएको ‘गीत गजल’ फिल्मको पनि उनलाई व्यग्र प्रतीक्षा छ। उनले मुख्य भूमिका निर्वाह गरेको छोटो फिल्म ‘आइसक्रिम’ भने केही महिनाअघि सार्वजनिक भइसकेको छ।

योगिशाको पहिलो सार्वजनिक फिल्म ‘आइसक्रिम’ नै हो। संगीता श्रेष्ठले निर्देशन गरको आइसक्रिम ‘अफ्रिका फिल्म फर इम्प्याक्ट फेस्टिभल’ मा पुरस्कृत फिल्म हो। यो महोत्सवमा योगिशाले उत्कृष्ट बाल-कलाकारको अवार्ड जितेकी थिइन्।

योगिशाको अभिनय यात्रा म्युजिक भिडिओबाट सुरू भएको हो। बीसभन्दा बढी म्युजिक भिडिओमा अभिनय गरेकी उनलाई अभिनयमा जोडेको चाहिँ उनको नाच्ने रूचि र सीपले हो।

भर्खर किशोर उमेर प्रवेश गर्न लागेकी उनी भन्छिन्, ‘सानैदेखि नाच्न थालेकी हुँ। चार वर्षको बेलादेखि युट्युबमा डान्स हेरर रमाउँथे। हेर्दाहेर्दै नाच्न सिकेँ।’

उनको नाच्ने रूचिमा स्कुलका गतिविधिले मलजल गर्‍यो। उनी प्याब्सन अन्तर्गतका ६० स्कुलका विद्यार्थीलाई जितेर पहिलो बनिन्। त्यसपछि ‘डान्स नेपाल डान्स, सिजन २’ की बिजेता पनि बनिन्। विद्यालयले उनलाई नाचेर पाएको सफलताकै कारण छात्रवृत्ति समेत दिएको छ।

योगिशाले राम्रो नृत्य गर्ने कलाकारका रूपमा परिचय बनाइसकेकी छिन्। यो परिचयका कारण केहीले बाटोमा ‘हेलो’ भनेर बोलाउँदा उनी मख्खै पर्छिन्।

तर उनको चाहना यतिमै सीमित छैन। भन्छिन्, ‘म ठूलो भएर प्रियंका कार्कीजस्तै चर्चित हिरोइन बन्छु।’यसो भन्दै गर्दै योगिशा सपना देख्छिन्, ‘अहिले थोरैले चिने पनि पछि मलाई देखेर मान्छेहरू मेरो अटोग्राफ माग्न आऊन्।’


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *