‘आमा बित्नुभयो, ठूलो बोझबाट मुक्त भएँ!’

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

मध्य निद्रामा रहेछु। फोनको घन्टी बज्यो। घडी हेरें, रातको पौने १ भएछ। अहो ! यतिबेला घरको फोन मन चिसो भयो। डराउँदै उठाएँ।

आमाले रुँदै भन्नुभयो, ‘हजुरआमा बित्नुभयो नानी। मेरो जिन्दगीको उज्यालो पक्ष अस्तायो।

हजुरआमा बितेको कुराले नरमाइलो लाग्यो। आँखाका डिल भरिए। ढुकढुकी बढ्यो। आमाको रुवाइ मध्यरातमा सेती नदीझैं सुसायो। मृत्यु सत्य कुरा हो। हामीले जति मन दुखाए पनि बितेको कुरा फर्कंदैन। आफूलाई सम्हाल्दै उहाँलाई सम्झाएँ।
संसारमा अरूलाई सम्झाउनु जस्तो सजिलो अरू केही नहुँदो रहेछ! एकछिन पछि आमाले सुकसुकाउँदै फोन राख्नुभयो। मेरा आँखा पनि भरिए।
***
फोन राखेपछि फेसबुक खोलें। जताततै हजुरआमाका तस्बिरमा हार्दिक श्रद्धाञ्जली लेखिएको थियो।

अहो ! कति हतारो मान्छेलाई श्रद्धान्जली दिन। जिउँदो रहँदा कैयौं हिउँद गए, कैयौं वसन्त फेरिए। हजुरआमाका जन्म दिन आए। कहिल्यै यसरी छरिएन फोटो फेसबुकको भित्ताभरि।
मनमनै सोचें, मान्छेलाई मृत्यु पनि उत्सव जस्तो लाग्छ कि के हो ?

निदाउन खोजें, निद्रा लागेन। हजुरआमासँग बाल्यकालका किस्साहरू आँखा अगाडि आएर उभिए। त्यसबेला हामी सानै थियौं। सीता, पार्वती र म भएर हजुरआमालाई जिस्काइरहन्थ्यौं। उहाँ हाम्रो चकचक हेरेर मुस्कुराउनु हुन्थ्यो।
म आकाशमा उडेको गौथलीको बच्चा देखाउँदै धेरै जानकारी लिन खोज्थें। उहाँले सकेसम्मको जवाफ दिनुहुथ्यो।
मैले कैयौं पटक उहाँको हात समाएर इन्द्रावती किनारमा हिँडेकी छु। उहाँको गोडा सधैं खाली हुन्थे। पैताला पटपट फुटेका हुन्थे। तर उहाँको मन फुटेको मैले कहिल्यै देखिनँ।

हजुरआमालाई सम्झँदै उज्यालो भयो।

मलाई त्यो बिहान उज्यालो लागेन। मनमा हुटहुटी चल्यो। हजुरआमा जलेको चिता भए पनि हेर्न मन लागेर बिहानै मेलम्चीको गाडी चढें।
लकडाउन हुनुभन्दा अगाडि म मामाघर गएको थिएँ। उहाँको अनुहारमा गुलावी रङ थिएन। ओठमा चमकता थिएन। आँखामा चञ्चलता थिएन।

मनमा उत्साह पनि देखिनँ।

एक रात हामी सँगै सुत्यौं। म उहाँको काखमा लुटपुटिन पुगें। उहाँले मलाई विस्तारै भन्नुभयो, अचेल मेरो मस्ती मरेको छ। हातगोडा पनि लाग्दैनन्। खान मन लाग्दैन। जिन्दगीको धेरै समय अरूको लागि बाँचेकोमा पछुतो लाग्छ। बाल्यकाल बाआमाको नियन्त्रणमा बित्यो। पछि परायाको रहरमा। अहिले छोराबुहारीको नियन्त्रणमा छु। आफ्नो लागि कम र अरूको लागि ज्यादा बाँच्नुजस्तो विडम्बना ! अरू केही नुहँदो रहेछ।

जवानीमै सिन्दूर पुछियो। बच्चा हुर्काउने र परिवार चलाउने जिम्मा मेरो काँधमा थियो। जेनतेन मेलापात गरेर बच्चाको भविष्य बनाउनतिर लागें।
मेलापात जाँदा एक मुठी मकै पनि यिनलाई नदिई खान सक्दिनथें। यी बिरामी हुँदा म रातभर निदाउनथें।
मैले कहिल्यै आफ्नो रहरमा बाँच्न पाइनँ। किशोरी समय। श्रीमानसँगको खुसीको खास अनुभव मसँग छैन। नानी मलाई दिन कटाउन निकै गाह्रो हुन्छ।

आफ्नो कोही नहुँदाको पीडा मैले भोगिरहेको छु। उमेर बढ्दै गएपछि कोही आफ्ना नहुने रहेछन्।

नाति नातिना मोबाइलमा व्यस्त छन्। रातभरि हाँस्छन्, कराउँछन्। मलाई एक मुठी तातोपानी तताएर दिने मन गर्दैनन्। छोराबुहारी काममा जान्छन्। सन्चोविसन्चोसम्म पनि सोध्न भ्याउँदैनन्।

यो अँध्यारो रात कसरी कटाउनु ? अचेल आफ्नो जीवन आफैंलाई भारी लाग्छ। रात कटे दिन कट्दैन दिन कटे रात कट्दैन।
तेरा हजुरबा भएका भए कति खुसीले उनको काखमा छरिन्थें होला ? कति दु:ख र दर्द साट्थें हुँला। उहाँ रुन थाल्नुभयो। मेरा गला अवरूद्ध भए।

त्यस रातमा हामी रातभरि निदाएनौं।

बिहान खाना खाने बेलामा आमालाई साह्रो भात निल्न गाह्रो भयो। तर कसैबाट पनि आमाको ख्याल भएन। जबरजस्ती निल्नुभन्दा उहाँसँग अर्को विकल्प थिएन।
मेरो मामाघरको बसाइ सकियो। काठमाडौं फर्किन तयार भएँ। छुट्ने बेलामा हामी अङ्गालोमा रोयौं। उहाँले राता टीका लगाइदिनुभयो, मनमनै भनें, आमाको जिन्दगी पनि यस्तै रङ्गीन भैदिए..
उहाँले मलाई ओझेल नपरुन्जेल हेरिरहनु भयो। मानौं यो नै अन्तिम भेट हो।
त्यसपछि हाम्रो कुराकानी भएन। तर आमालाई सम्झिरहन्थें।

अहो ! गाडी नाङ्लेभारे पुगिसकेछ।

आमाको फोन आयो भन्नुभयो, नानी हजुरआमाको चिता त राति नै जलाएछन्। तिमीले पनि नुन बार्नू। आमालाई आफू मामाघर जान लागेको बताएर फोन राखें।
कति हतारो चिता जलाउन। आफ्नो भन्नु त के रहेछ र ? मध्यरातमा हजुरआमाले शंखको धुनसँगै ओरालो लाग्नुपर्‍यो।
मान्छेहरूले किन नसोचेको होला भोलि पनि उज्यालो हुन्छ। भोलि पनि नयाँ दिन आउँछन्।

फेसबुक खोलें, हजुरआमाको फोटो पोष्ट गरेर सबै आफन्तले श्रद्धाञ्जली दिन भ्याएछन्। जसले उहाँ जिउँदो रहँदा वर्षौंसम्म पनि भेट्न भ्याएका थिएनन्।
पछिल्लो समयमा सञ्चारको विकासले निकै फड्को मार्‍यो। विश्व एउटा कोठाभित्र सीमित भयो।

देश विदेशमा भएका आफ्नाहरू निकै नजिक भए तर मेरी हजुरआमाजस्ता मान्छेहरूलाई नातिनातिना र आफन्तबाट नै खोसिदियो।

सन्चोबिसन्चो भन्दा पहिला वाइफाइको पासवर्ड मागिन थालियो। हरेक कुराको सकारात्मकता र नकारात्मकता पक्ष हुन्छ। बढी नकारात्मक कुरामा ध्यान दिन्छन्। भर्चुअल दुनियाँले मान्छेको मनसँग नमज्जासँग खेल्यो। एउटा कोठामा विश्व पनि अटाइदियो।
फेरि एउटै कोठाबाट आफन्तलाई छुटाइदियो।
म मेलम्ची बजारमा झरें। एकपटक इन्द्रावती किनारमा गएर भर्खर हजुरआमाको लास जलेको ठाउँ हेरें। उहाँको यादबाहेक मसँग केही बाँकी थिएन।

आमाको याद बोकेर मामाघर पुगें।

त्यहाँ मलाई खोज्ने आँखा पहिल्यै अस्ताएको थियो। मामाघरमा मलामीहरूको ठूलै भीड थियो।
एकजना बुढामान्छेसँग मामाले भन्दै गरेको सुनें, आमा बित्नुभयो म ठूलो बोझबाट मुक्त भएँ। यो शब्द बारम्बार कानमा ठोक्कियो।
मनमनै भनें, मामा हजुरलाई कहिल्यै बुढो हुन नपरोस् कहिल्यै मर्न नपरोस्। एकछिन बस्न मन लागेन। काठमाडौं फर्किन गाडी चढें। तर मेरो कानमा बारम्बार त्यही शब्द ठोक्कियो।

आमा बित्नुभयो म ठूलो बोझबाट मुक्त भएँ!


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *