इलाममा भेटियो पाटेबाघ

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

गत चैतमा डडेलधुरामा २५०० मिटर उचाइमा पाटेबाघ कैद भएकामा यो पटक ३१६५ मिटर उचाइमा रेकर्ड भएको हो ।

काठमाडौँ — इलामको ३१६५ मिटर उचाइमा पाटेबाघ भेटिएको छ । पूर्वी नेपालमा पाटेबाघ भेटिएको पहिलो पटक हो । बारास्थित पर्सा निकुञ्जभन्दा पूर्वमा बाघ रेकर्ड भएको थिएन ।
कञ्चनजंघा भू–परिधिमा जीपीएस कलर गरिएका १० वटा हाब्रे (रेडपाण्डा) अनुगमन गर्न राखिएको २० वटा क्यामेरा ट्रयापमध्ये एउटा क्यामेरामा पाटेबाघ कैद भएको वन तथा भू–संरक्षण विभागले जनाएको छ ।
यो रेकर्डसँगै पूर्वी पहाडी क्षेत्रको कञ्चनजंघा भू–परिधिमा बिरालो प्रजातिको संख्या ८ पुगेको छ । चितुवा, ध्वाँसे चितुवा, हिउँ चितुवा, सुनौलो बिरालो, चरी बाघ, वन बिरालो र छिरबिरे बिरालो विगतमा रेकर्ड भइसकेका छन् । उक्त जैविक मार्ग कञ्जनजंघा संरक्षण क्षेत्र र भारतको सिंघलिला निकुञ्जसँग जोडिएको छ ।

विभाग र रेडपाण्डा नेटवर्कले हाब्रेको घाँटीमा जीपीएस कलर जडान गरी संयुक्त रुपमा रेडपाण्डाको अनुगमन गरिरहेका छन् ।यसअघि गत चैतमा डडेलधुरामा २५०० मिटर उचाइमा बाघ भेटिएको थियो । भारतमा ३६३० र भुटानमा ४४०० मिटर उचाइसम्म बाघ भेटिएका छन् ।

विभागका महानिर्देशक मनबहादुर खड्काले उच्च भागमा बाघ पाइनुले उच्च पहाडी क्षेत्रका वनमा ठूला जंगली बिरालो प्रजातिको बासस्थान भएको पुष्टि भएको उल्लेख गरेका छन् । रेडपाण्डा नेटवर्कका राष्ट्रिय निर्देशक आङफूरी शेर्पाले इलाममा बाघ रेकर्ड हुनुले उक्त क्षेत्रको जैविक मार्गको महत्व र त्यसको संरक्षणको प्राथमिकता उजागर गरेको बताएका छन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *