दिनको १३ घन्टा खटेर विदेश पठाउने गलैंचा बुन्छन् कीर्तिपुरका यी महिला

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

कीर्तिपुर, इताछेँ वडा नम्बर १० स्थित गलैंचा कारखानामा महिलाहरू काम गर्दै थिए। कुनै बेला डेढ सयभन्दा बढी काम गर्ने यस कारखानामा अहिले ३० जना मात्रै कार्यरत छन्। ती ३० जनामध्ये पाको उमेरमा ७५ वर्षसम्मकी महिला छन्।
विदेशबाट हातले बुनेको गलैंचाको माग आएसँगै उनीहरूले रोजगारी पाएका हुन्। उनीहरूले बनाएका गलैंचा विदेश पुग्छन्।
‘अर्डर गर्नेले गलैंचाको नक्सा दिन्छन्। नक्सा अनुसारको धागो छान्छौं अनि बल्ल काम सुरू हुन्छ,’ गलैंचा कालिगढ प्रेममाया महर्जनले सेतोपाटीसँग भनिन्, ‘नक्साको बुट्टा हेर्दै हुबहु बुन्न थाल्छौं।’

हातले बुनेको गलैंचा बनाउन धेरै नै मिहिनेत लाग्छ। नियमित बुन्यो भने पनि एउटा सक्न कम्तीमा एक महिना लाग्ने उनले बताइन्। भर्खर बुन्न सिकेका सिकारूलाई त झनै समय लाग्ने रहेछ। काम पनि दिनभरी बाह्रमासै गर्नुपर्ने।
प्रायः घरका काम बिहानै सकेर ६-६:३० बजे कारखाना पुग्छन्। दिनभर गलैंचा बुनेरै बस्छन्। बेलुकी ७ बजेतिर काम निप्ट्याएर मात्रै घरतर्फ लाग्छन्। सामान्यतया उनीहरू १३ घन्टा खट्छन्।

‘घरमा आमाले खाना पकाउनुहुन्छ। अरू काम बिहानै सकेर आउँछु,’ दुर्गा महर्जनले भनिन्, ‘खेतको काम भयो भने त्यहाँ जानुपर्छ। त्यस्तो बेला चाहिँ गलैंचा बनाउन साढे दुई महिना पनि लाग्छ।’

गलैंचा बुन्न सिकेका दिन सम्झना गर्दै दुर्गाले अगाडि भनिन्, ‘पहिला पाटनका दिदीहरूले यस्तै गलैंचा बेच्न ल्याएको देखेकी थिएँ। स्कुलबाट फर्किएर आएर हेरिरहन्थेँ। अनि विस्तारै हेर्दा हेर्दै सिकेकी हुँ।’काम गर्न गाह्रो भए पनि यही काम गर्न बाध्य भएको भन्दै प्रेममाया गुनासो पोख्छिन्। उनी कारखानामा २५ वर्षदेखि काम गर्दै रहिछिन्।

अर्को काम जानेकी छैन, यही हो जानेको। त्यसैले गाह्रो भए पनि गर्नैपर्‍यो,’ उनले भनिन्।
एक तल्ले छाप्रोमुनि यसरी नै काम गर्न थप अरू पनि आइपुगे। कुनाको खाली ठाउँमा झोला राखे र धागो लिँदै बुन्न बसे। सबै नेवार समुदायकै महिला भएकाले हामीलाई ‘पहाडी’ बोल्न आउँदैन भन्दै बोल्न हिच्किचाए पनि। नेवार भाषामा कुराकानी गर्दै काममा रुमलिए।
कोरोना माहामारीले गर्दा कारखाना केही महिना बन्द थियो। बुन्न नपाएको भन्दै उनीहरू चिन्तित थिए।

‘कहिले धागो छैन, कहिले के छैन। धेरै असर पार्‍यो लकडाउनले पनि,’ प्रेममायाले भनिन्।
यो काम नै यस्तै– बुन्न सके दाम आउँछ, नसके आउँदैन।
केही महिना बन्द भएर पुनः खुलेको कारखानामा फेरि काम सुरू हुँदा सबै व्यस्त थिए।
‘महामारीले गर्दा अर्डर धेरै आएको छैन,’ दुर्गा महर्जनले भनिन्, ‘यहाँबाट आएको पारिश्रमिकले पूरै घर खर्च नधाने पनि धेरै सहयोग मिल्छ। धन्न फेरि खुल्यो।’

कारखाना खुले पनि सबैजना भने आउन अझै सकेका रहेनछन्।
एउटा गलैंचा बुन्न दुई जना चाहिने हुनाले एकको अनुपस्थितिमा अर्कोले पनि बिदा बस्नुपर्ने बाध्यता रहेछ। त्योबाहेक दिनभर बसेर बुन्नुपर्दा ढाड दुख्ने दुर्गा बताउँछिन्।
मेसिन र हातले बुनेकोमा कुन राम्रो भन्ने हाम्रो प्रश्नमा दुर्गाले नै भनिन्, ‘मेसिनले बनाएको गलैंचामा फुसफुस आउँछ। हामीलाई त हातले बुनेकै राम्रो लाग्छ, अरूलाई कस्तो लाग्छ खै?’


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *