नेपाल र चीनझैं सबै मिलेर काम गर्ने हो भने कोरोनालाई हराउन सकिन्छ’

विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ — चीनले सबै देश मिलेर काम गर्ने भने कोरोना महामारीलाई परास्त गर्न सक्ने बताएको छ । बुधबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाउ लि च्येनले कोभिड–१९ ले विश्वलाई नै जटिल परिस्थितिमा धकेलेको भए पनि यसबाट छुटकारा पाउन सकिने बताएका हुन् ।पत्रकार सम्मेलनका क्रममा सगरमाथाको नयाँ उचाइ घोषणाको महत्वबारे सोधिएको प्रश्नको जवाफ दिने क्रममा प्रवक्ता च्येनले कोरोना महामारीलाई सबै मिलेर परास्त गर्नु पर्ने बताएका हुन् ।
‘चोमोलोङ्मा(सगरमाथा) को अग्लाइ जति नै भए पनि आरोहण गर्न सकिन्छ, त्यसै गरी जति नै कठिन परिस्थिति भए पनि कोभिड–१९ लाई परास्त गर्न सकिन्छ,’ उनले पत्रकार सम्मेलनमा भने । उनले अगाडि भने, ‘चीन र नेपालले झैं समझदारीका साथ मिलेर काम गर्ने हो भने हामीले कोरोना भाइरसलाई हराउन सक्छौं ।’

प्रवक्ता च्येनले चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपाली समकक्षी विद्यादेवी भण्डारीले संयुक्त रुपमा सगरमाथाको नयाँ उचाइ घोषणा गरेको उल्लेख गर्दै यसले कोरोना महामारीले आक्रान्त विश्वमा नयाँ आशा जगाएको बताए । उनले भने, ‘सगरमाथाको नयाँ उचाइको घोषणाले मानव जातिको साहस र संसारलाई बुझ्ने र पत्ता लगाउन सपनालाई पछ्याउने मानव शक्तिको प्रतिनिधित्व गर्छ ।’साथै सगरमाथाको नयाँ उचाइ घोषणा हुनु चीन–नेपाल मित्रतामा एउटा नयाँ कोशेढुंगा थपिएको पनि उनले दाबी थरे । यसै वर्ष नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्ष पुग्ने उल्लेख गर्दै दुवै पक्षको पहलकदमीबाट बीआरआई सहकार्यमा लगातार प्रगति भएको पनि उनले बताए । यसले ट्रान्स–हिमालयन बहुपक्षीय नेटवर्क विस्तारमा सहयोग पुग्ने पनि प्रवक्ता च्येनले बताए । उनले नेपाल र चीनबीचको सम्बन्ध हिउँजत्तिकै निर्मल भएको पनि बताए ।

प्रवक्ता च्येनले सगरमाथाको नयाँ उचाइ घोषणाले नेपाल–चीन सहकार्य पनि नयाँ उचाइमा पुगेको संकेत गर्ने बताए । सगरमाथाको चट्टानी उचाइ निश्चित गर्नका लागि दुवै पक्षबाट भएको कठिन मेहनत र सहकार्य भएको पनि उनले बताए । सगरमाथाको नयाँ उचाइ पत्ता लगाउन खटिने सबैलाई उनले धन्यवाद पनि व्यक्त गरेका छन् । साथै सगरमाथाको पारिस्थितिक र पर्यावरण संरक्षण तथा वैज्ञानिक अनुसन्धानमा नेपाललाई सहयोग गर्न चीन सधैं तयार रहेको पनि प्रवक्ता च्येनले बताएका छन् ।
म‌ंगलबार नेपाल र चीनले स‌ंयुक्त रुपमा विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको घोषणा गरेका हुन् । नेपाल र चीन सगरमाथाको उचाइ ८८४८.८६ मिटर भएकोमा एकमत भएपछि नयाँ उचाइ घोषणा गरिएको हो ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *