तिलाठी –कुनौली नाका अन्तर्गत तिलाठी नजिक खाडो खोलाको छेउमा रहेको सशस्त्र प्रहरीको चेकजाँचस्थल नजिक सादा पोसाकमा रहेका नेपाल प्रहरी र ड्युटीमा रहेका सशस्त्र प्रहरीबीच झडप भएको प्रत्यक्षदर्शीले जानकारी दिए ।
भारतबाट नेपाल आइरहेकाहरुलाई चेक गर्ने क्रममा दुवै सुरक्षा निकायका जवानबीच भएको विवाद गालीगलौज हुँदै हात हालाहाल सम्म पुगेको ती प्रत्यक्षदर्शीले बताए । कोरोना महामारीपछि नेपाल सरकारले सीमा सिल गरेको भएपनि सीमामा दैनिक सयौंको संख्यामा मानिस ओहोरदोहोर गर्ने गरेका छन् भने तस्करी मौलाएको छ । सदरमुकाम राजविराजबाट सादा पोसाकमा गएको नेपाल प्रहरीको टोली सशस्त्रको चेकजाँचस्थल नजिक भारतबाट आउँदै गरेकाहरुलाई चेक गर्न थालेपछि दुवै सुरक्षा निकायबीच भनाभन सुरु भएको थियो ।
सशस्त्र प्रहरी बलको तिलाठी बीओपीका सशस्त्र प्रहरी निरीक्षक सुशिल केसीले दुवै सुरक्षा निकायका जवानबीच ‘मिस अन्डरस्ट्यान्डिङ’ भएको बताए । ‘नेपाल प्रहरीका साथीहरु सादा पोसाकमा हाम्रो चेकजाँचस्थ्ल नजिक आएका थिए,पारीबाट आउनेहरुसित जथाभावी कुरा गर्न थालेपछि हाम्रो जवानहरुले कहाँबाट आएको भनेर सोधपुछ गर्ने क्रममा मिस अन्डरस्ट्यान्डिङ भएको हो,’केसीले भने ।जिल्ला प्रहरी कार्याल्य सप्तरीका डीएसपी भुवनेश्वर साहले घटनाबारे बुझिरहेको बताए । ‘सामान्य केही विवाद भएको हो भन्ने खबर आएको छ,विस्तृत रुपमा बुझदैछु,’ डिएसपी साहले भने ।
सरकारले नेपाल भारत सीमा सिल गरेपछि पछिल्लो समय भारतीय क्षेत्रबाट तस्करी बढेको छ । सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै तैनाथ रहेपनि दिनभरी सयौं मानिस भारतीय बजार गएर फर्किने गरेका छन् भने राति पनि तस्करी हुँदै आएको छ ।