सगरमाथाको उचाइ सङ्गै बढ्यो देशको गौरव अनि स्वाभिमान

राष्टिय
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढेर आठ हजार ८४८।८६ मिटर कायम भएको छ । नेपालले पहिलोपटक आफ्नै स्रोत, साधन र जनशक्तिले सगरमाथाको उचाइ मापन गरेको सुखद् घटनाले केवल सगरमाथाको उचाइका निम्ति मात्र नभई विश्वमा नेपालको पहिचान बढेको छ । यसले नेपाल र नेपालीको सम्मान र स्वाभिमान पनि बढेको सरकारका वरिष्ठ मन्त्रीहरुले उल्लेख गर्नुभएको छ ।

सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न आज यहाँ आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको उचाइ बढ्नु नेपालका निम्ति अविष्मरणीय र गौरवपूर्ण घटना भएको बताउनुभयो । “नेपालको पहिचान र गौरवका रुपमा रहेको सगरमाथाको उचाइ मात्र घोषणा भएको छैन, नेपालले आफ्नै जनशक्ति र स्रोत व्यवस्थापन गरी नेपाली प्राविधिकबाट भएको यो अविस्मरणीय र गौरवपूर्ण क्षणले नेपाली प्राविधिक क्षमताको उचाइमाथि पुगेको छ, यस कार्यमा संलग्न सम्पूर्णमा हार्दिक बधाई दिन चाहन्छु”, परराष्ट्र मन्त्री ज्ञवालीले भन्नुभयो ।

उहाँले सगरमाथाको उचाइ घोषणासँगै सगरमाथाबारे आधिकारिक, वैज्ञानिक तथ्य आम सहमतिमा प्राप्त भएको उल्लेख गर्नुभयो । उहाँले अगाडि थप्नुभयो, ‘‘हामी सबैलाई थाहा छ, सगरमाथाको उत्तरी पाटो जनवादी गणतन्त्र चीनसँग सम्बद्ध छ । यसको उचाइ संयुक्त रुपमा घोषणा गरिनु आवश्यक पनि थियो विश्वसनीयताका लागि । खुशीको कुरा नेपालको नापी विभागले शुरु गरेर डेटा प्रोसेसिङ गरी जुन विन्दुमा ल्याएको थियो, चिनियाँ मित्रहरुले गरेको सर्भे र उहाँहरुको तथ्याङ्क प्रशोधनमा पनि सोही तथ्य सही रुपमा देखापरेका छन्, यसले अब तथ्य र एकरुपता पनि कायम गरेको छ ।” परराष्ट्रमन्त्री ज्ञवालीले भूमि व्यवस्था मन्त्रालयबाट यस वर्ष भएका दुई महत्वपूर्ण काम नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा र सगरमाथाको नयाँ उचाइ मापन कार्य सम्पन्न भएकामा मन्त्री अर्याललाई धन्यवाद ज्ञापन गर्नुभयो ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *