नारायण नगरपालिकामा जनप्रतिनिधिका भतिजी र बुहारीलाई नियुक्ती

राजनीति
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

दैलेख — नारायण नगरपालिकाका विभिन्‍न शाखा र कार्यालयमा जनप्रतिनिधिका आफन्तले नियुक्तिमा प्राथमिकता पाइरहेका छन् ।चालु आर्थिक वर्षमा मात्र २१ जना कर्मचारी पहुँचको भरमा भर्ना भएका छन् । यसले गर्दा नगरपालिकामा प्रशासनिक र विकास निर्माणको कामले गति लिन सकेको छैन ।
मंसिर १२ गते नारायण नगरपालिका र मानसिक स्वास्थ्य परामर्श केन्द्रको साझेदारीमा एकजना सामुदायिक मनोसामाजिक संयोजक र ८ जना सामुदायिक मनोसामाजिक विमर्शकर्ताको विज्ञापन गरियो । उक्त पदमा नगरप्रमुख रत्नबहादुर खड्काकी भतिजी सरगम खड्का र बुहारी शर्मिला आरसी छनोट भए ।

प्रतिनिधिसभा सदस्य रविन्द्र शर्माकी बुहारी सम्झना खत्री र नजिककै नातेदार ज्ञानकुमारी थापाले पनि जागिर पाए । कार्यपालिका सदस्य विष्णु शर्मा पनि छोरी बालकुमारी शर्मालाई जागिर खुवाउन सफल भइन् । त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रममा १ नम्बर वडाका वडाध्यक्ष तीर्थनारायण श्रेष्ठकी छोरी शान्ति श्रेष्ठ छनोट भइन् ।नगरपालिकाले यसअघि ९ सामुदायिक विद्यालयमा स्टाफ नर्स राख्दा पनि जनप्रतिनिधि र कर्मचारीका आफन्तले मौका पाएका थिए । जनप्रतिनिधिका आफन्तलाई उत्तीर्ण बनाउन परीक्षा हलमा सिकाउने र प्रश्न खाली छोड्न लगाइ जाँच गर्ने बेला आफैं टिक लगाउने गरिएको असन्तुष्ट परीक्षार्थीको आरोप छ । उतिबेला शिक्षा शाखा प्रमुख हिमालयजंग शाहकी छोरी चारुमती शाह छनोट भएकी थिइन् । ‍सुरुमा दुवै छोरीको नाम निकालेका उनले विरोध हुन्छ भन्दै अर्की छोरीको नाम अन्तिम अवस्थामा कटाएका थिए ।

कर्मचारी र जनप्रतिनिधिका आफन्तलाई जागिर खुवाउने नाममा वर्षेनि बजेट दुरुपयोग भइरहेको स्थानीयबासीको आरोप छ । पछिल्लो समय परीक्षा निष्पक्ष नभएको भन्दै जनप्रतिनिधिले नै विरोध गर्न थालेका छन् । नगरपालिकाले आह्वान गरेका ३ वटा विज्ञापन निष्पक्ष नभएको वडा सदस्य रमेश केसीले बताए ।

‘गरिब, निमुखा र दलित–जनजातीले कुनै मौका पाएनन्,’ उनले भने,‘जाँचमा खटिएका कर्मचारीले नै पास/फेल गराउने जिम्मा लिएपछि हामीले प्रश्‍न गर्ने ठाउँ नै भएन ।’ उनले यसअघि पनि कार्यालय सहयोगी राख्ने नाममा माथिल्ला तहका जनप्रतिनिधिले आफ्ना कार्यकर्ता र आफन्तलाई मात्र जागिर खुवाएको बताए ।

नगरपालिका आठ महिनादेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेको छ । पदपूर्ति समितिका संयोजक तथा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रेशमबहादुर वुढाले आफ्ना मान्छे छनोट नहुँदा असन्तुष्ट पक्षले जथाभाबी हल्ला गरेको बताए । ‘प्रमाण पेश गरे फेरि परीक्षा गराउन तयार छौं,’ उनले भने,‘अहिलेसम्म भएका सबै कर्मचारी छनोटको काम प्रक्रिया पुर्‍याएरै गरिएको छ ।’


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *