थकाली रेस्टुरेन्टमा खाना पकाएर खुवाउने कुक आज आफै आँसुले भात मुछेर खाइरहेका

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

बसपार्कसमेत बनाइएको खुलामञ्‍चमा अपराह्न ३ बजे गाडी चढ्ने र ओर्लिनेहरूको भिडसँगै खाना खान आउनेहरूको पनि ठूलै भिड छ । त्यो भिडबाट कसैले अचानक सम्बोधन गर्‍यो, ‘सर मलाई चिन्‍नुभयो ?’ स्टकोट र ढाकाटोपी पहिरिएको, मुखमा मास्क, नाडीमा घडी र पिठ्युँमा झोला भिरेको मान्छेले दुई हात जोडेर नमस्कार गरे ।

नमस्कार गर्दै आफूलाई चिनाउन आउने व्यक्ति उनै सञ्‍जीव थिए ।कोरोना महामारी नआएको भए सञ्‍जीव राई सायद होटेलको भान्सामै परिकार पकाइरहेका हुन्थे । सेतो ह्याट र एप्रोनमा सजिएर ग्राहकको इच्छा अनुसारका मेनु तयार गरिरहेका हुन्थे । तर, कोरोना महामारीले उनको जीवनमा नहुनुपर्ने भइदियो ।

सञ्‍जीव अहिले खुलामञ्‍चमा छन् । कोभिड-१९ महामारीअघि सयौँ मानिसलाई खाना पकाएर खुवाउने उनी अहिले आफैँ मागेर पेट भर्दै छन् । चैतमा लकडाउन सुरु हुनुअघि उनी बौद्धको थकाली रेस्टुराँमा कुक थिए । लकडाउनसँगै उनको काम खोसियो । बेरोजगार बनेका सञ्‍जीवले चैतमा पाएको अलिकति तलबले कोठाभाडा तिरे । आम्दानी रोकिएपछि कोठाभाडा तिर्न सकेनन् ।

लकडाउनकै बेला उनी घर गए । १ असारमा लकडाउन खुलेपछि काम पाइने आसले फेरि काठमाडौं फर्किए । तर, काम नपाएपछि सञ्‍जीव पेट पाल्न उल्टै सडकमा आउनुपर्‍यो ।कोठामा ग्यास सकिएको छ । यतै खुलामञ्‍चमा खाना खान्छु अनि कोठामा गएर सुत्छु । तीन महिनाको कोठाभाडा तिरेको छैन, घरभेटीले भाडा तिर, नभए कोठा खाली गर भनेका छन् ।

वसन्तपुरस्थित उनको त्यो कोठा खोसिइसकेछ । चार महिनादेखि भाडा तिर्न नसकेका सञ्‍जीवको सबै सामान जफत गरेर घरबेटीले उनलाई कोठाबाहिर निकालिदिए का छन् । मनमा यो पीडा छचल्किएपछि उनी भक्कानि न थाले ।खुलामञ्‍चको कोलाहलमा उनको क्रन्दन कतै बिलायो ।

आँसु पुछ्दै उनले भने, ‘मैले घरबेटीलाई भनेको छु, दुई महिनाजति पर्खिनु, यो सामान कसैलाई नदिनु, म जसरी पनि तिर्छु ।’ सञ्‍जीव अहिले नयाँ सडकको पीपल बोटमा रात बिताउँछन्, दिनभर खुलामञ्‍च, रत्नपार्क वरिपरि टोलाउँछन् ।जागिर खोसिएपछि उनले नयाँ जागिर पनि खोजी गरे । ‘होटेल, रेस्टुराँ सबै ठाउँ पुगेको हुँ

। जागिर छैन भन्छन्,’ सञ्‍जीवले भने ।‘मलाई केही पनि चाहिएन, मेरो दिदीले बर्थ डे गिफ्ट दिनुभएको कालो कोट, पाइन्ट निकाल्न पाएँ भने मलाई कोठा पनि चाहिँदैन ।’ दिदीले दिएको कोट, पाइन्ट लगाएर मोबाइलमा खिचेको तस्बिर देखाए, सञ्‍जीवले ।आँखाका डिलबाट पोखिन लागेको आँसु रोक्न उनले टाउको उठाएर आकाशतर्फ हेरे ।

यति गर्दा पनि केही थोपा आँसु मास्क छिचोल्दै गालातिर झरे ।पाँचखालमा उनका तीन छोरा छन् । गाउँमा पनि आर्थिक अवस्था निको छैन । उनी भन्छन्, ‘घर गएर पनि के गर्नु, उता उस्तै हालत छ । झन् साह्रो छ ।’ काठमाडौंमा खाना नपाएर गाउँ आएको भन्‍ने थाहा पाएपछि समाजले खिल्ली उडाउने डरले पनि उनी गाउँ जान चाहँदैनन् । ‘गाउँमा, घरमा कसैलाई भन्यो भने आफ्नै खिल्ली उड्छ,’ सञ्‍जीवले बाध्यता सुनाए ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *