नर्सहरुको चित्कार : बिरामीको पिडाले मन थाम्न गाह्रो भो – बिरामीलाई अक्सिजन देउ बरु हामीलाई भत्ता चाहिदैन !

कोरोना विशेष
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं– बुधबार दिउसो करिब ४ बजे। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसीयू वार्डमा नर्सहरुको दौडधुप थियो।

‘हाम्रो आइसीयूमा नर्सहरु सधै यसरी नै खटिनुपर्छ’ आइसीयूकी नर्सिङ इञ्चार्ज उषा देवकोटाले भनिन्, ‘आइसियूमा भर्ना भएका बिरामी निको हुनै छाडे।’

आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस। कोरोना महामारीमा फ्रन्टलाइनमा रहेर संक्रमितको केयरमा अहोरात्र खटिएका नर्सहरुले खुसीयालीका साथ नर्सिङ दिवस मनाउन पाएका छैनन्। किनकी उनीहरुलाई अहिले आफ्नो दिवस भन्दा पनि बिरामीको प्राण कसरी बचाउने भन्ने चिन्ता बढी छ।

‘नर्सिङ दिवसको खुसीयाली मनाउने समय नै छैन, अहिले त आइसीयूमा रहेका बिरामीलाई चाहेर पनि बचाउन सकिरहेका छैनौं,’ देवकोटाले भनिन्, ‘आँखै अगाडी कोरोना संक्रमितको मृत्यु भइरहेको देख्दा हामी आफैं रुन्छौं।’ बोल्दाबोल्दै उनको बोली बन्द भयो। उनी भक्कानिदै रोइन्। फेरि आफूलाई सम्हाल्दै आफ्नो काममा लागिन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र होइन देशभरका अस्पतालहरुमा कोरोना संक्रमितको केयरमा हजारौं नर्सहरु खटिएका छन्।
वीर अस्पतालको कोभिड आइसीयू वार्डमा दुईजना नर्सहरु पिपिइ लगाएर बिरामीको केयरमा खटिएका छन्। नर्सिङ वार्डमा अन्य नर्सहरु पनि छन्।
‘आज नर्सिङ दिवस मनाउन भ्याउनुभयो त?’ हाम्रो प्रश्नमा वार्डकी नर्सिङ इञ्चार्ज सरिता श्रेष्ठले भनिन्, ‘हाम्रो ध्यान त अहिले बिरामीलाई कसरी अक्सिजन पुर्‍याउने भन्ने मात्र छ।’

उनले वीर अस्पतालको आइसीयू वार्डमा मंगलबारदेखि अक्सिजन अभाव हुन थालेको सुनाइन्।
मंगलबार राती १० मिनेट अक्सिजन सप्लाई रोकिदा २ जना कोरोना संक्रमितको मृत्यु भएको श्रेष्ठले जानकारी दिइन्।

उनका अनुसार अस्पतालमा बेला बेलामा १०/१५ मिनेट अक्सिजन नै रोकिन्छ।

आफूहरुलाई नै जोखिममा राखेर बिरामीको केयर गरिरहेपनि अक्सिजन अभावकै कारण आँखै अगाडी बिरामीको मृत्यु हुँदा दुःख लागेको उनले सुनाइन्।

‘हिजो राती एक्कासी अक्सिजन बन्द भयो। एकजना बिरामीले नर्सको पिपिइ समाउदै मलाई अक्सिजन दिनुस् बचाउँनुस् भन्दाभन्दै उहाँको आँखै अगाडि मृत्यु भयो,’ उनले भनिन्, ‘यसरी अक्सिजन अभावमा आँखै अगाडी बिरामीको मृत्यु हुँदा हामीले कसरी मन थाम्ने?’

वीर अस्पतालको कोभिड आइसीयूमै समेत अक्सिजन अभावको अवस्था हुनु गम्भीर कुरा भएको उनको तर्क छ।

कोरोना महामारी विरुद्ध खटिएका स्वास्थ्यकर्मीलाई सरकारले भत्ताको घोषणा गरेर भत्ता नदिँदा दुखेसो नरहेको भएपनि बिरामीलाई अक्सिजन समेत अभावको हुन थालेकोमा भने दुःख लागेको उनले सुनाइन्।

‘सरकारले हामीलाई जोखिम भत्ता दिने भनेर घोषणा गर्‍यो, तर हामीले पाएनौं, त्यसमा पनि हामीलाई दुःखा लागेको थिएन, हाम्रो नर्सिङ बहिनीहरुले पनि दुखेसो गरेका थिएनन्,’ उनले भावुक हुँदै भनिन्, ‘तर, अहिले वीर जस्तो केन्द्रीय अस्पतालमै बिरामीले अक्सिजन नपाएर मर्न बाध्य भएको देख्दा हामीलाई दुःख लागेको छ। आइसीयूमा बिरामी राखेर ती बिरामीको आफन्तलाई अक्सिजन आफैंले खोजेर ल्याऊ भनेर हामीले कसरी भन्ने?’

आइसीयू वार्डमा ड्युटी सकेर निस्किदै गरेकी नर्स सम्झना परियालले आफूहरुलाई भत्ता नदिएपनि बिरामीलाई अक्सिजनको व्यवस्थापन गर्न सरकारसँग अपिल गरिन्।

‘दिदीले भन्नुभएजस्तै अहिले बरु हामीलाई भत्ता चाहिँदैन, तर बिन्ती बिरामीको लागि पर्याप्त अक्सिजन उपलब्ध गराइदिनुस्। अक्सिजन बिना हामीले केयर मात्र गरेर बिरामीलाई बचाँउन सक्दैनौं।’
नेपाल लाइभ साभार
हेर्नुहोस ..


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *