कुश्मा नगरपालिका–१२ ठुलीपोखरीस्थित राम्चे बस्ती

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

पर्वत — कुश्मा नगरपालिका–१२ ठूलीपोखरी राम्चे गाउँवासीले ६ वर्षदेखि पहिरोको जोखिम झेल्दै आएका छन । २०७२ साउनमा खसेको पहिरोले २ घर र १० बस्तुभाउ पुरिएपछि यहाँका गाउँले बर्सेनि पहिरोको जोखिममा छन् । यसपटकको मनसुनअघि नै बस्ती सार्न नसके बस्नै नसक्ने अवस्था रहेको गाउँलेको गुनासो छ ।

गाउँका १४ परिवार सुरक्षित बासको खोजीमा विभिन्न निकाय धाउन थालेको ५ वर्ष बढी भएको छ । तर कतैबाट निकास पाउन नसक्दा स्थानीय निराश छन् । पहिलो पहिरोपछि निरन्तर ठुल्ठूला पानीका मुल घरभित्रै निस्किएको स्थानीयले बताएका छन् । ‘घरको आँगन पहिराले बगायो । सानोतिनो झरी पर्‍योकी बस्तीमाथीबाट पहिरो खसिहाल्छ । करेसाबारीमा ठुल्ठूला मूल फुटे,’ स्थानीय दुर्गा लामिछानेले भने, ‘समस्या लिएर उतिबेलै जिल्ला विकासमा पुग्यौं । १० वटा त्रिपाल दिएर टारियो । अहिलेको नगरपालिकाबाट पनि हाम्रो समस्या हेर्न कोही आउनुभएन ।’ गतवर्षको पहिरोले दुई घर बस्नै नमिल्ने भएपछि ऋणधन खोजेर नजिकै सरेको उनले सुनाए । हिउँदको समयमा निर्धक्क रात काट्नेहरू वर्षा सुरु हुनासाथ रातभर निदाउन पाउँदैनन् । कहिले विद्यालय त कहिले छिमेकीको घरमा आश्रय लिन जानुपरेको पार्वती लामिछानेले बताइन् । ‘बर्खा सुरु भइसक्यो । अहिले कोरोनाले वल्लोपल्लो घर जानसक्ने अवस्था पनि छैन । अब कसरी बाँच्ने हो ?’ उनले भनिन् । कोरोना महामारीबीच सुरु भएको मनसुनमा घरगोठ र परिवार बचाउने अर्को चिन्ता थपिएको उनले बताइन् ।
यो बीचमा पनि उनीहरूले कुश्मा नगरपालिकालाई सुरक्षित बसोबासको माग गर्दै निवेदन नदिएका होइनन् । बस्ती सार्न नसके पनि पानी र भल तर्काउन पाइपको माग गर्दासमेत नगरपालिकाबाट सहयोग नपाएको स्थानीय दधिराम लामिछानेको गुनासो छ । ‘तत्काल बस्ती सार्न सम्भव नभए भल तर्काउने पाइपको व्यवस्था गर्नुस् नत भनेर नगरपालिकामा निवेदन दियौं,’ उनले भने, ‘त्यो पनि सुनुवाइ भएन ।’ पहिरोपीडितले कुश्मा नगरपालिकामा पछिल्लो समय गत चैत २० मा बस्ती जोगाइदिन माग गर्दै नगरपालिकामा निवेदन दिएका थिए ।

बस्ती जोखिममा भए/नभएको प्रमाणित गरी स्थानान्तरण गर्ने जनशक्ति नभएका कारण नगरपालिकाले तत्कालै कारबाहीमा जान नसकेको नगरप्रमुख रामचन्द्र जोशीले बताए । ‘हामीले भूगर्भ विभागमा जानकारी गराएका छौं,’ भने, ‘प्राविधिकले मूल्यांकन गरेपछि बस्ती सार्ने वा अरू कुनै सुरक्षा अपनाउने भन्ने यकिन हुन्छ ।’


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *