ओलीलाई भेटेर राष्ट्रिय सरकार बनाऔँ भनेको हुँ तर मान्नुभएन : बाबुराम भट्टराई

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ — जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार बनाउन प्रधानमन्त्री केपी शर्मा ओली नमानेको बताएका छन् ।
नेकपा एमालेका सांसद महेश बस्नेतले प्राइम टेलिभिजनसँगको अन्तर्वार्तामा भट्टराईले ओलीलाई भेटेर ‘प्रधानमन्त्री बनाइदिनुपर्‍यो’ भनेको भनेपछि उनले सामाजिक सञ्‍जालमा स्पष्टीकरण दिएका हुन् । बस्नेतले भट्टराईले दस दिनको अवधिमा बालुवाटार पुगेर दुईपटक ओलीसँग भेटवार्ता गरेको बताएका थिए ।कुराकानीमा भट्टराईले ओलीसँग अहिलेको परिस्थितिमा देशमा राष्ट्रिय सरकारको आवश्यकता रहेको र त्यसको नेतृत्व आफैले लिनुपर्ने बताएको बस्नेतको दाबी थियो । जवाफमा ओलीले आफूविरुद्ध भट्टराईलगायत पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, उपेन्द्र यादव, रामचन्द्र पौडेल सबै लागेको र आफू १२१ जना सांसद भएको पार्टीको नेता भएकाले अरुलाई सहयोग गर्न नसक्ने बताएको बस्नेतको दाबी थियो ।

जसपा अध्यक्ष भट्टराईले प्रधानमन्त्रीले दूतमार्फत बोलेकाले आफू बोल्नै पर्ने अवस्था आएको बताएका छन् । आफूले महाविपत्तिउन्मुख देशलाई निकास दिन व्यक्ति ओलीलाई नभई प्रधानमन्त्री ओलीलाई भेटेको पनि बताएका छन् । वर्तमान र पूर्वप्रधानमन्त्रीबाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔँ भन्दा ओलीले नमानेपछि आफूले उक्त कुरा अरुलाई नभनेको पनि उनले बताएका छन् ।साथै अझै पनि संविधानको धारा ७६(५) बमोजिम सरकार बनाउन सकिने कुरा उनले बताएका छन् । भट्टराईले लेखेका छन्, ‘प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो-महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो।मैले वर्तमान/पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊॅ भनेकै हो। उहाँले नमानेपछि अरूलाई नभनेको हुँ ।अझै पनि धारा७६(५)बमोजिम बनाउन सकिन्छ।सोचौं!’

विपक्षी दलहरूले गठबन्धन सरकारका लागि संख्या पुर्‍याउन नसकेपछि प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।तीन दिनअघि प्रतिनिधिसभामा विश्वासको मत प्राप्त नगरेपछि कामचलाउमा परिणत भएका ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बेलुका प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । ओलीले शपथ भने शुक्रबार शपथ लिइसकेका छन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अन्तर्गत दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा प्रधानमन्त्रीको दाबी गर्न दिएको समय सीमा बिहीबार राति ९ बजे सकिँदासम्म कसैको पनि दाबी नपरेपछि ओली नै प्रधानमन्त्री बन्ने ढोका खुलेको हो । प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेताको हैसियतमा संविधानको धारा ७६ (३) अनुसार पुनः प्रधानमन्त्री बनेका ओलीले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

कानुनविद्हरुका अनुसार यो सरकारले विश्वासको मत प्राप्त गर्‍यो भने जसले विश्वासको मत दिन्छ उसले फिर्ता नलिउन्जेल अरूले २ वर्षसम्म अविश्वासको प्रस्ताव राख्न पाइँदैन, फिर्ता लिए प्रधानमन्त्री आफैं विश्वासको मत लिन जानुपर्छ । विश्वासको मत नै प्राप्त भएन भने उपधारा ५ आकर्षित हुने पनि कानुनविद्हरुको भनाइ छ । त्यही व्यवस्थाअनुसार नयाँ सरकार बन्न सक्ने भट्ट्रराईको भनाइ आएको हो ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *