आइसोलेसन रित्तै, संक्रमित घरमै

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

कपिलवस्तुको तौलिहवास्थित जिल्ला अस्पतालमा अक्सिजन सपोर्टमा उपचार गराइरहेका कोरोना संक्रमित । शय्या अभावमा बाहिर बरन्डामा राखेर उपचार भइरहेको छ । तस्बिर : मनोज
परासी — पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा बुधबार एकै दिन होम आइसोलेसनमा तीन जनाको मृत्यु भयो । अस्पताल पनि लैजान नपाएकामा आफन्त दुःखी छन् । सुनवल–४ की २८ र २९ वर्षीया महिला र एक पुरुषको मृत्यु भएको हो । नगरपालिकाले निःशुल्क एम्बुलेन्स र आइसोलेसन सेन्टर बनाए पनि उनीहरू घरमै बसेका थिए । यसअघि पनि रुघाखोकी लागिरहने र सामान्य औषधिले निको हुने भन्दै बसेका उनीहरूलाई बुधबार एक्कासि श्वासप्रश्वासमा समस्या आएपछि एम्बुलेन्स बोलाउँदा बोलाउँदै मृत्यु भएको हो ।
‘गाउँघरमा सामान्य समस्या हुँदा अस्पताल जाने चलन छैन । घरायसी जडीबुटी खाएर निको हुन्छ कि भनेर कुर्ने चलन छ,’ सुनवल–४ की रिता सोमै मगरले भनिन्, ‘कोरोना संक्रमितलाई त एक्कासि बिमारले च्याप्दो रहेछ । आँखैअगाडि छिमेकी र आफन्तको मृत्यु हुँदा बल्ल होस खुलेको छ ।’
लक्षण देखिएमा वडाध्यक्ष वा स्वास्थ्यकर्मीलाई तत्काल खबर गर्न भने पनि बिमारले च्यापेपछि मात्र खबर गर्ने गरेकाले संक्रमण फैलने जोखिम बढेको सुनवल–४ का वडाध्यक्ष वीरबहादुर गुरुङले बताए । ‘छरछिमेकीले थाहा पाउँछन् भनेर रुघाखोकी र ज्वरो आउँदा समेत लुकाएर राख्दा समस्या बढेको छ । सामान्य नागरिकले भन्दा पनि पढेलेखेका र बुद्धिजीवी भन्नेहरूले नै रोग लुकाउने र अन्तिम अवस्थामा मात्र हामीसँग सहयोग माग्ने गर्छन्,’ वडाध्यक्ष गुरुङले भने, ‘नगरको आइसोलेसनमा गएर बस्नुहोस् भन्दा पनि घरमा नै ठिकै छ भन्ने बढी छन् ।’

जिल्लामा कोरोना जाँचका लागि पीसीआर मेसिन नहुँदा समस्या छ । लक्षण देखिएकाको पीसीआर परीक्षणको रिपोर्ट नै तीन–चार दिनमा आउने भएकाले बिरामीको अवस्था कमजोर हुने गरेको छ । जिल्लाको रामग्राम नगरपालिकामा पाँच जना र बर्दघाट नगरपालिकामा तीन जना संक्रमितको होम आइसोलेसनमा नै मृत्यु भएको छ । स्थानीय तहले सञ्चालन गरेको आइसोलेसन रित्तै हुने र संक्रमितको घरमै मृत्यु हुने क्रम बढ्दो छ ।

रामग्राम नगरपालिका–५ का ३९ वर्षीय संक्रमित पुरुष होम आइसोलेसनमा बसिरहेका छन् । एक–दुई दिन ज्वरो आउने र खोकी लाग्ने समस्या भएको भए पनि चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गरेर उनी घरमा नै बसिरहेका हुन् । रातको समयमा अप्ठ्यारो महसुस हुने हो कि भन्ने चिन्ताले उनलाई अहिले पनि पिरोल्छ । ‘नगरपालिकाको आइसोलेसनमा गएर बसे पनि स्वास्थ्यमा समस्या पर्‍यो भने बुटवल, चितवन दौडाउनुपर्ने अवस्था छ । जिल्लामा भेन्टिलेटर र आईसीयू छैनन्,’ संक्रमित एक युवाले भने, ‘चिकित्सकबिनाको आइसोलेसनमा गएर बस्नु र घरमा नै बस्नु एकै हो । आइसोलेसन निर्माण गर्ने हो भने चिकित्सकसहित स्वास्थ्यकर्मी खटाउनुपर्‍यो ।’

बर्दघाट नगरपालिका–४ की ३८ वर्षीया संक्रमित महिलालाई आइसोलेसनमा गएर बस्न उनलाई पनि मन छैन । उनले भनिन्, ‘आइसोलेसनमा कोही पनि गएका छैनन् । एक्लै महिला आइसोलेसनमा गएर बस्न सकिँदैन । फेरि बिमारले च्याप्यो भने ठूलै अस्पताल जानुपर्ने रहेछ । अनि, किन बस्नु आइसोलेसनमा ?’ स्थानीय तहले सञ्चालन गरेका आइसोलेसनमा भन्दा संक्रमितले घरमा नै सुरक्षित महसुस गरेका छन् । जिल्लाका अधिकांश स्थानीय तहमा चिकित्सक छैनन् । अहेब र स्वास्थ्य सहायकबाट काम चलाउनुपर्ने अवस्था छ । कतिपयले घरमा नै अक्सिजन सिलिन्डर लगेर राखेका छन् । ९५ प्रतिशतभन्दा बढी संक्रमित अहिले घरमा नै चिकित्सकीय सल्लाह अनुसारको औषधि र व्यायाम गरेर बसिरहेका छन् । जिल्लामा संक्रमितमध्ये न्यून मात्रै आइसोलेसनमा बसेका छन् ।

स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका कोरोना फोकल पर्सन देवीलाल पौडेलले लक्षण नभएका र सामान्य लक्षण भएका संक्रमित घरमा नै बसिरहेको बताए । ‘समय समयमा स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्यकर्मी घरमा गएर अवस्था बुझ्ने गर्नुहुन्छ,’ पौडेलले भने, ‘अहिले स्थानीय तहको आइसोलेसनमा संक्रमित नआए पनि संक्रमण दर बढ्दै गयो भने भरिन सक्छन् । यसैको तयारी स्वरूप हरेक स्थानीय तहमा आइसोलेसन बनाइएका हुन् ।’ सातवटा स्थानीय तहले अक्सिजनसहित ९८ वटा बेड तयारी अवस्थामा राखेका छन् ।

पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले संक्रमितको संख्या बढ्दो भएकलो आइसोलेसन बेड बढाउने तयारीमा रहेको बताए । ‘धेरैमा संक्रमणको लक्षण नै देखिंदैन,’ जिल्ला अस्पताल परासीका चिकित्सक मोहम्मद नुरुल होदाले भने, ‘अधिकांश संक्रमित अवस्था गम्भीर भएपछि मात्र अस्पताल आउने गर्छन् । लगातार खोकी लाग्ने, ज्वरो कम नहुने तथा श्वासप्रश्वासमा समस्या आउँदासम्म होम आइसोलेसनमा बस्दा समस्या बढेको हो । रिपोर्ट पोजिटिभ आउनेबित्तिकै स्वास्थ्यकर्मीको सल्लाह अनुसार औषधि सेवन गर्ने हो भने समस्या बढ्दैन ।’ जटिल अवस्थाका कोरोना संक्रमितलाई राख्ने भेन्टिलेटर जिल्लामा छैन ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *