यी युवा जसले आफ्नो बेड र अक्सिजन अर्का संक्रमितलाई दिएर आफू स्टुलमा बसे

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

शुक्रबार मध्याह्न, कोभिड वार्डको ग्यालरीमा राखिएका बेडमा अक्सिजनको भरमा शास फेरिरहेका कोरोना संक्रमित ढल्किएका छन् । त्यही ग्यालरीमा रहेको बेड नं २५ मा अक्सिजन लगाइएका एक जना बृद्ध घोप्टो परेर पल्टिएका छन् । बेड नं २५ मै कुहिना टेकाएर स्टुलमा टुक्रुक्क बसेका छन् एक युवक । मास्क, फेसशिल्ड लगाएका युवकले हातमा सेतो पञ्जा पनि लगाएका छन् । झट्ट हेर्दा ति युवक बिरामी कुरुवा हुन् की जस्तो लाग्छ ।

तर, उनी आफैँ कोरोना संक्रमित हुन् । उनी आफैँ अक्सिजनको साहारा आवश्यक परेर अस्पताल आएका हुन् । कोरोना संक्रमणले उनको फोक्सोमा निमोनिया भइसकेको छ । स्टुलमै बसेर उपचार खोजिरहेका यी युवा हुन् दाङ, शान्तिनगरका २५ वर्षे नविन शर्मा । उनलाई २१ वैशाखमा कोरोना संक्रमण देखियो । २२ वैशाखसम्म कीर्तिपुरस्थित कोठामा ‘आइसोलेट’ भएर बसेका उनी २२ वैशाखकै राति स्वास फेर्न गाह्रो भएपछि २३ वैशाखमा टेकु अस्पताल आइपुगे ।

‘तारन्तार खोकी लाग्न थाल्यो । स्वास फेर्नै गाह्रो भएपछि अस्पताल आएँ,’ उनी सुनाउँछन्, ‘यहाँ आएर पनि बेड पाइएन, बाहिरै बस्नुपर्‍यो ।’ २३ वैशाखदेखि उनी अस्पतालमै छन् ।

तर, २३ वैशाखमा अस्पतालका सबै बेड भरिभराउ थिए/छन् । ग्यालरी, प्यासेजका बेञ्चसमेत खाली थिएनन्/छैनन् । स्वास फेर्न अक्सिजन नभइ नहुने भएपछि स्वास्थ्यकर्मीले उनलाई आकस्मिक कक्षको बाहिर राखिएको बेञ्चमा राखेर अक्सिजन दिए । अक्सिजन पाएपछि राहतको लामो सास फेरे उनले । ‘अक्सिजन लगाएपछि हलुको भयो,’ उनले भने ।

अस्पतालको पिँढीमा अक्सिजनको सहारामा रात बिताएपछि २४ वैशाखको दिउँसो उनले अस्पताल भित्र छिर्न पाए । २४ वैशाख १२ बजेतिर उनलाई अस्पतालको ग्यालरीमा राखिएको बेड नं २५ मा राखियो । ‘बेड पाएपछि अब त बाँचिन्छ जस्तो लागेको थियो,’ उनी सुनाउँछन् । स्वास फेर्न सहज होस भनेर अक्सिजन पाइप पनि लगाइयो ।

१२ बजेदेखि २ बजेसम्म उनी बेड नं २५ मा अक्सिजनको सहारामै थिए । कोरोनाको दोस्रो लहर सुरु भएसँगै दैनिक संक्रमित हुने र मर्नेको संख्या बढिरहँदा अस्पताल आउने बिरामीको संख्या पनि बढिरहेको छ । स्वास्थ्य अवस्था जटिल भएका संक्रिमितलाई अस्पतालले बेड नभए पनि अक्सिजन दिएर, बेञ्चमा, स्टुलमा, पिँढीमा राखिरहेको छ । शर्मालाई बेडमा राखिएको केही बेरमै कोरोना संक्रमित भएका ५५ वर्षे पुरुष खोक्दै, लडखडाउँदै आइपुगे ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *