युएईको अस्पतालमा जमेका नेपाली डाक्टर

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

युनाइटेड अरब इमिरेट्स (युएई)मा काम गरिरहेका करीब तीन लाख नेपालीमध्ये एक हुन्– डा. गणेश मानन्धर । राजधानी अबुधाबीको लाइफलाइन अस्पतालमा उनले दैनिक जाँच्ने बिरामीमध्ये आधाभन्दा बढी नेपाली हुन्छन् परदेशमा बिरामी पर्दा नेपाली चिकित्सकबाटै उपचार र परामर्श पाउनु नेपाली कामदारका लागि ठूलो कुरा हो । कति बिरामीको लागि त चिकित्सकको परामर्श मात्र पनि रामबाण साबित हुन्छ । त्यसमा हुने भाषाको समस्या डा. मानन्धरलाई भेट्दा नहुने भयो ।

उनी सामान्य रुघाखोकीदेखि दुर्घटनामा परेका, मधुमेह, उच्च रक्तचाप भएका नेपालीको उपचार गरिरहेका छन् । ‘कोही लाइफलाइनमा नेपाली डाक्टर छ भनेर अलि टाढाबाट पनि आएका हुन्छन्’ मानन्धर भन्छन्, ‘थाहा नपाएकाहरू युएईको अस्पतालमा नेपाली डाक्टर भेट्दा चकित बन्छन् ।’

भाग्यमा युएई
उनका कतिपय साथी युरोप–अमेरिकातिर छन् । केही नेपालमै कार्यरत छन् । उनी चाहिं कसरी युएई उछिट्टिए त ? यसको अलि भिन्न कहानी छ । भिन्न यसकारण कि नेपाल छाड्न नचाहँदा पनि उनी युएईमा छन् । उनी स्वदेशमै ठूलो कारोबारी बन्न चाहन्थे, तर विदेशमा डाक्टरी गरिरहेका छन् ।

पढाइमा निकै लद्दु थिए गणेश मानन्धर । कक्षा ६ सम्मको पहिलो र दोस्रो त्रैमासिक परीक्षामा लगभग सबै विषयमा फेल हुन्थे । कक्षा १० सम्म पुग्दा तीनवटा स्कूल फेरेका थिए । ‘मलाई पढ्न होइन, खेल्न र खान मात्र मन पथ्र्यो’ डा. मानन्धर हाँस्छन्, ‘स्कूलमा शिक्षक र घरमा बाको पिटाइले मेरो त्यो रुचिमा कुनै परिवर्तन ल्याउन सकिरहेको थिएन ।’
पढाइमा गणेशको घोर अरुचिले बाआमालाई ठूलो चिन्तामा पारेको थियो । त्यस्तैमा एक दिन मामा गंगाराम मानन्धरले सम्झाउँदै भने, ‘परिवारको जेठो छोरा नै गोबर गणेश, खत्तम भएपछि अब तिम्रा भाइबहिनी पनि बिग्रने भए ।’
भाइबहिनी पनि बिग्रने भए… ! त्यो भनाइले गणेशको मथिंगल नराम्ररी हल्लायो । त्यसबेला कक्षा १० को शुरूमा थिए । अनि पढाइमा यसरी ध्यान लगाए कि त्यही साल प्रथम श्रेणीमा एसएलसी पास गरे‘त्यसपछि बिजनेस म्यान बन्ने सुरले कमर्स पढ्न थालें, तर आमाले साइन्स पढेर डाक्टरी लाइनमा जाउ भनिरहनुभयो’ गणेश सम्झन्छन्, ‘अनि कोर्स शुरू भएको तीन महीनापछि जोडबल लगाएर साइन्स पढ्न थालें ।’

बा कम बोल्ने । उनको छेउमा पर्न पनि डरै लाग्ने । त्यसैले बासँग बोल्ने, आफ्नो विचार भन्ने लगायत सबै कुरा आमामार्फत गर्थें ।पढाइमा रस बसिसकेको थियो, साइन्स र म्याथमा राम्रै अंकसहित ११ र १२ कक्षा पास गरेर एमबीबीएसको लागि त्रिवि र केयूको इन्ट्रान्स परीक्षा दिए, तर नाम निस्केन । ‘त्यसपछि नेपाल मेडिकल कलेजमा नाम निकालें, तर ३०–३५ लाख रुपैयाँ तिरेर एमबीबीएसको पाँचवर्षे कोर्स पढ्न मन लागेन’ गणेश भन्छन्, ‘अनि सन् २००५ को अन्त्यतिर बंगलादेशको युएसटीसी मेडिकल कलेजमा भर्ना भएँ । त्यहाँ १५ लाख नेरुमा पाँचवर्षे कोर्स सकिन्थ्यो ।’

तर, प्राक्टिकल समेत गरेर झन्डै सात वर्ष लाग्यो । २०१२ मा उनले नेपाल मेडिकल काउन्सिलबाट रजिस्टर नम्बर पनि पाए– १३००८ ।त्यसपछि बी एन्ड बी हस्पिटलमा काम शुरू गरे । केही महीनामै त्यहाँभन्दा राम्रो तलबमा पाटन अस्पताल आए ।

गणेशलाई मुटुरोग विशेषज्ञ बन्नु थियो, तर सिनियरहरूले दबाएर राख्ने नेपाली कुरीतिको शिकार बन्न थाले । पाटन अस्पतालमा डेढ वर्ष सर्जरी विभाग, एक वर्ष मानसिक रोग विभागमा काम गरे, ६ महीना एमबीबीएस तहलाई पठाए । र पनि, एमडी सपना पूरा नहुने देखेपछि उनी निराश बने ।निजी खर्चमा एमडी गर्दा ५०–६० लाख रुपैयाँ लाग्थ्यो । उनी निकास खोजिरहेका थिए । त्यसैबीच गरीबहरूलाई सुलभ स्वास्थ्य सेवा दिने उद्देश्यले भक्तपुरको भत्केकोपाटीमा डा. मानन्धरले अनमोल फार्मेसी खोले ।

‘कन्सल्टेन्ट चार्ज निःशुल्क गर्दा वरपरको वातावरणले टिक्न दिएन’, डा. गणेश मानन्धर भन्छन्, ‘आफ्नै क्षेत्रका अगुवाहरूले अनेक तिकडम गरेर खराब देखाउन खोजेपछि मनै मरेर आयो ।’अन्ततः २०१५ मा उनले पलायन स्वीकार गरेर युएईको दुबई हेल्थ अथोरिटीमा आफ्ना प्रमाणपत्रहरू पेश गरे । काठमाडौंमै परीक्षा पनि दिएर दुबईको अलकुजस्थित शेखर मेडिकल सेन्टरमा काम गर्न आए ।

शुरुमा युरोप होस् या अमेरिका, जहाँ पनि संघर्ष गर्नैपर्ने हुन्छ । डा. मानन्धरले पनि शुरुका दिनहरूमा अप्ठ्याराहरू भोगे । दुःखको बाटो पार गरेपछि सुखको पाटो आउँछ । उनले युएईमा यही अनुभव संग्रह गरेका छन् ।

यहाँ उनीसहित चारजना नेपाली चिकित्सक छन् । केही नर्स र ल्याब टेक्निसियनहरू छन् । पारिश्रमिक नेपालको तुलनामा चार–पाँच गुणा बढी छ । आयकर तिर्नु पर्दैन ।

डा. मानन्धर २०१९ देखि निकै राम्रो सेवा सुविधासहित अबुधाबी आएका हुन् । यहींबाट लन्डनको रोयल कलेज अफ फिजिसियनमा इन्टरनल मेडिसिन र इमर्जेन्सी मेडिसिन पढेर गत २६ फागुनमा एमडीको परीक्षा पनि दिएका छन् । त्यसको परिणाम आएपछि उनको स्थान र जिम्मेवारी अवश्य बढ्नेछ ।

‘काम गर्ने वातावरण, प्रविधि र सुरक्षा मात्र नभई ‘ग्लोबल सिटिजन’हरूको माया र सम्मान पाएको छु’ डा. मानन्धर भन्छन्, ‘विदेशमा बसीबसी स्वदेशी दाजुभाइको सेवा गर्दा पाइने सन्तुष्टि पनि मलाई मिलेको छ ।’

नेपालमा पनि सबैले काम गर्ने वातावरण छिटो बनोस् भन्ने उनको कामना छ । स्वास्थ्य र शिक्षामा नेपाल सरकारले लगानी बढाउनुपर्ने उनी बताउँछन् । उनी भन्छन्, ‘स्वास्थ्य बीमा अनिवार्य गरेर सबै नेपालीलाई निःशुल्क गुणस्तरीय स्वास्थ्य सुविधा दिनेतिर सरकार लाग्नुपर्छ ।’


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *